झापा । नेपालमा पहिलो पटक राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन् तथा अनुवंश समाज नेपाल (पिबाग्सन) को आयोजनामा तथा जिन बैंक, लिबर्ड, अक्सफामलगायत विभिन्न संस्थाको सहआयोजनामा हुन लागेको हो ।
सम्मेलनमा नेपालमा बाली प्रजनन् र अनुवंशिक अनुसन्धानको इतिहासदेखि वर्तमान अवस्थासम्मको समग्र समीक्षा गरिनेछ । साथै बाली प्रजनन् र बीउ क्षेत्रमा देखिएका समस्याको समाधान खोज्दै भावी कार्यदिशा तय गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । सम्मेलन आयोजक समितिले विस्तृत कार्यतालिका सार्वजनिक गर्दै कार्यपत्र आह्वानसमेत गरिसकेको छ । आउँदो माघ ६ गतेदेखि तीन दिनसम्म ललितपुरमा सञ्चालन हुने सम्मेलनमा देशभरबाट बाली प्रजनन्, अनुवंश र बीउ विज्ञानका क्षेत्रमा अनुसन्धान, शिक्षण तथा विस्तारमा संलग्न वैज्ञानिक, प्राविधिक, प्राध्यापक, विद्यार्थी र किसान गरी करिब १५० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार सम्मेलनमा विभिन्न विषय समेटिएका ६ वटा समूह अन्तर्गत करिब ५० वटा कार्यपत्र प्रस्तुत गरिनेछ




















































