मेचीनगर । नीति, नियम वा निर्णय प्रक्रियालाई आफ्नो वा सीमित समूहको स्वार्थअनुकूल बनाएर गरिने प्रक्रिया भ्रष्टाचारको परिभाषा हो । यहि परिभाषाअनुसार झापाको मेचीनगरमा क्रसर उद्योग र नदीजन्य पदार्थ उत्खननको बेथितिमाथि प्रश्न उठेको छ । मापदण्ड पूरा नगरेका क्रसर उद्योग स्थानीय सरकारले जारी गरेको नियमलाई ठाडो उल्लंघन गर्दै मेचीनगरका विभिन्न नदीबाट अनियन्त्रित रुपमा उत्खनन भएको गुनासो व्यापक छ । एसियन हाइवे निर्माणकर्ता कम्पनीदेखि शाखा सडकको निर्माण तथा स्तरोन्नती ब्यवसायी तथा निजी होटल, घर निर्माणका लागि नियम मिचेर अबैध रुपमा नदीजन्य सामाग्री उत्खनन हुँदै आएको जनाएको छ ।एसियन हाइवे निर्माणकर्ता कम्पनी कालिका कन्ट्रक्सनले मेचीनगर-१४ स्थित हडिया पुलको २० मिटर छेउबाट उत्खनन गर्दै आएको छ । नियम मिचेर उत्खनन गरेको भिडियो अनुगमन अनलाईनले सम्प्रेषण गरेपछि उक्त ठाउँ उत्खनन रोकेको छ । उक्त बिषयमा कन्ट्रक्सनका इन्जिनियर नकुल थापाले पुलको दायाँबायाँ उत्खनन गर्न पाउने अधिकार रहेको बताए ।त्यस्तै मेचीनगर-३, ४ को खोला नदी, बुद्धशान्ति-१ र हडिया खोलाबाट उत्खनन हुँदै आएको स्थानीयको गुनासो छ । प्रत्यक्ष रुपमा खोलामा जेसिभी र ट्रिपर पसेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दै ओसारपसार गर्दा त्यसलाई नियमन गर्न नपुग्ने स्थानीय सरकारले वेल्चा ट्याक्टरलाई नियम लगाउँदै कार्वाही गर्ने गरेको ब्यवसायीको गुनासो गरेका छन् । सम्बन्धित ठेकेदारले खोलाको छेउको निजी जमिन र क्रसरमा संचित गरेको गिट्टी-बालुवा र पुरुवा बोक्दै आएको भनिएपनी स्थानीय सरकार मापदण्ड र नियमलाई मिचेर उत्खनन गर्दै आएको पाइन्छ । निजी जग्गावलाले उत्खनन गर्न अनुमती दिएपछी मेचीनगर नगरपालिकाको वातावरण शाखाले वातावरण प्रभाव मुल्यांकन प्रतिवेदन (आईईई) तयार गर्दै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । उक्त ठाउँमा प्रतिवेदन वा मापदण्ड पूरा गरेपनी ठेकेदारले आँखा छलेर रातारात खोलाबाट उत्खनन गर्दै आएको यसअघि नै सार्वजनिक भएको छ ।मेचीनगरमा सञ्चालनमा आएका अधिकांश क्रसर उद्योग लामो समयदेखि विधिवत् नवीकरण तथा मापदण्ड पुरा नगरी सञ्चालनमा आएको पाइन्छ । लामो समयदेखि खोलाको किनारमा, सडकको छेउमा, दुई वटा क्रसर उद्योग एकै ठाउँ सञ्चालन भइरहँदा नियामक निकायमाथि जानकारहरुले गम्भीर प्रश्न गर्दै आएका छन् । उद्योगको दर्ता, नवीकरण, सञ्चालन अनुमति र वातावरणीय स्वीकृतिबारे सम्बन्धित निकाय स्थानीय सरकार मेचीनगरले वास्तविक विवरण सार्वजनिक गरेको छैन । मापदण्डविपरीत ढुंगा, गिट्टी र बालुवा उत्खनन हुँदा नदीको बहाव, खेतीयोग्य जमिन, तटबन्ध र बस्ती जोखिममा परेको स्थानीयको पनि गुनासो छ । उत्खननबाट भएको वातावरणीय र भौतिक क्षतिको छानबिन गरी दोषी ठेकेदारमाथि कारबाहीको मागसमेत राख्दै आएका छन् ।





