झापामा रगतको अभाव: दैनिक १२० युनिटसम्म माग
- मंसिर ४, २०८३
- ४३६ पटक पढिएको
-
झापा । झापामा पछिल्लो समय रगतको अभाव गम्भीर बन्दै गएको छ । अस्पतालमा रगतको माग बढ्दै गए पनि रक्तदान गर्नेको संख्या घट्दा बिरामी र आफन्तले रगत खोज्न सास्ती बेहोर्नुपरेको छ । रेडक्रसकर्मी तथा सामाजिक अभियन्ता विष्णु आचार्यका अनुसार झापामा दैनिक १२० युनिटसम्म रगत खपत हुने गरेको छ । तर, मागअनुसार रगत संकलन हुन नसक्दा आवश्यक परेको समयमा उपलब्ध गराउन कठिन भइरहेको छ । विशेषगरी सुत्केरी महिला, मिर्गौलाका बिरामी, नियमित डायलाइसिस गराउने तथा दुर्घटना र आकस्मिक शल्यक्रियाका बिरामीलाई रगतको बढी आवश्यकता पर्ने गरेको छ । आचार्यले रक्तदानप्रति सामाजिक चेतना बढाउन अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । अस्पतालबाटै रक्तदानको महत्वबारे जानकारी दिने र नियमित रक्तदान अभियान सञ्चालन गर्ने हो भने अभाव न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।