झापा । झापाको मेचीनगर-१० धुलावारी माइत भएकी हेमा मण्डलको हत्या गरेको आरोपमा उनका पति विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको नक्सलवारीमा पतिसँगै भाडाको कोठामा बस्दै आएकी हेमाको शव केही दिनअघि कुहिँएको अवस्थामा कोठाभित्र फेला परेको थियो ।

पहेमाको मृत्यु स्वाभाविक नभई हत्या भएको भन्दै माइती पक्षले भारतीय प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो अनुसन्धानका क्रममा प्रहरीले हेमाका पति विप्लव कुमारलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई भारतीय प्रहरीले शनिबार सिलिगुडी अदालतमा पेश गरेको छ।

माइती पक्षका अनुसार करिब दुई वर्षअघि विप्लव कुमार कामका लागि धुलावारी आएका बेला हेमासँग चिनजान भएको थियो । त्यसपछि उनले हेमालाई फकाएर भारत लगेको बताइएको छ  । केही समयअघि विप्लव कुमार ‘काम गर्न जान्छु’ भन्दै एक साताका लागि घरबाहिर गएका थिए। सोही अवधिमा हेमाको हत्या भएको हुनसक्ने आशंका माइती पक्षले गरेको छ । भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।