काँकरभिट्टा । नेपालतर्फ लागूऔषध भित्र्याउने तयारीमा रहेका दुई भारतीय नागरिकलाई भारतको किशनगञ्ज प्रहरीले छुट्टाछुट्टै कारबाहीमा पक्राउ गरेको छ।
प्रहरीका अनुसार ४०८ ग्राम ब्राउन सुगर र ३ किलो ८८८ ग्राम गाँजासहित पश्चिम बंगालका दुई अन्तरराज्यीय तस्कर पक्राउ परेका हुन्।
किशनगञ्जका प्रहरी अधीक्षक सन्तोष कुमारको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत शनिबार एमजीएम गेट नम्बर २ नजिक चेकजाँच गरिएको थियो। सो क्रममा शंकास्पद अवस्थामा रहेका पश्चिम बंगाल, उत्तर दिनाजपुरका ३० वर्षीय निखिल मण्डललाई पक्राउ गरिएको हो। उनको साथबाट ४०८ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद ब्राउन सुगरको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ८० लाख भारतीय रुपैयाँ रहेको बताइएको छ।
यस्तै, सोही दिन टाउन हल किशनगञ्जनजिकबाट पश्चिम बंगाल मुर्शिदाबादका ३० वर्षीय सत्तार शेखलाई ३ किलो ८८८ ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भारतीय प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि अभियान तीव्र पारेको छ। अभियानअन्तर्गत किशनगञ्जमा एक सातामै ८२ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ।