झापा । सूर्यदेवको आराधना, उपासना र पूजासँग सम्बन्धित छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ। चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका अवसरमा व्रतालुले नदी, पोखरी तथा जलाशयमा पुगेर सूर्यदेवको पूजा आराधना गर्ने परम्परा छ।

छठ पर्व शुक्रबारदेखि विधिवत् सुरु भएको हो। पहिलो दिन स्नान गरी शुद्ध भोजन ग्रहण गर्ने र दोस्रो दिन खरना विधिअन्तर्गत सखरको खीर बनाएर षष्ठी मातालाई चढाई प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ। त्यसपछि व्रतालुले कठोर निराहार व्रत सुरु गर्छन्।

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालु रातभर जाग्राम बस्नेछन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ पर्व समापन हुनेछ।

छठ पर्वमा सूर्यदेव र षष्ठी माताको पूजा गरे सुख, शान्ति, समृद्धि तथा सन्तानको कल्याण हुने धार्मिक विश्वास छ। यस पर्वमा परिवारको सुख, समृद्धि, सन्तानको दीर्घायु र मनोकामना पूरा हुने कामनासहित व्रत बस्ने गरिन्छ।

पौराणिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भन्ने कामनाका साथ सूर्यदेवको आराधना गरेका थिए। सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको उल्लेख छ। सूर्यदेवको आराधनाबाट कुष्ठरोगबाट पीडित साम्ब रोगमुक्त भएको प्रसंगसमेत पौराणिक ग्रन्थमा पाइन्छ।

सूर्यलाई जीवन, ऊर्जा र प्रकृतिको आधार मानिने भएकाले छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्व विशेष रहेको छ। सूर्यको प्रकाशबाट वनस्पति, प्राणी तथा सम्पूर्ण जीवजगत् सञ्चालन हुने मान्यता छ।

विगतमा तराईका सीमित क्षेत्रमा मनाइने छठ पर्व अहिले राष्ट्रिय पर्वका रूपमा स्थापित भएको छ। छठका अवसरमा नदी, पोखरी तथा जलाशयका किनारमा घाट निर्माण गरी सजावट गर्ने र सामूहिक रूपमा सूर्यको पूजा गर्ने परम्परा रहेको छ।

छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता तथा प्रकृतिप्रतिको सम्मानलाई उजागर गर्दै आएको छ।