मेचीनगर, २० साउन । नेपाल आयल निगमले एल्पी ग्यासको मूल्य घटाएपनि ग्यास उद्योगले समयमै घटेको मूल्यसुची सार्वजनिक नगर्दा सर्वसाधारण ठगिएका छन् । निगमले साउन १६ गते मध्यरातदेखि लागू हुनेगरी ग्यासको मूल्य १ सय ४० रुपैयाँ घटाएको थियो ।
निगमले मूल्य घटाएकोबारे सार्वजनिक गर्यो तर, ग्यास उद्योगले आफ्ना डिलरलाई समयमै जानकारी नगराउँदा सर्वसाधारण मारमा परेका हुन् ।
निगमले १६ गते जारी गरेको मूल्यसुचीनुसार कोशी ग्यास कम्पनीले १७ गते नै आफ्ना डिलरलाई सुचित गरिसक्नुपर्ने थियो । तर, कम्पनीले २ दिनपछि १८ गते मात्रै डिलरलाई सुचित गरेका कारण झापा मेचीनगर–७ इटाभट्टाको रेजिना हार्डवेयर (कोशी ग्यास डिलर) मा पुगेका सर्वसाधारणले घटेको मूल्यमा ग्यास नपाएर ठगिएको गुनासो पोखें ।
निगमले घटाएको मूल्यको पैसा बोकेर १८ गते रेजिना हार्डवेर पुगेका स्थानीय चन्द्रकान्त साह रित्तै घर फर्किए । पसलेले घटेको मूल्यसुची नआएको र साबिकको मूल्यमा मात्रै ग्यास दिनसकिने बताएपछि शाह फर्किएका थिए ।
शाहले १९ गते उपभोक्ता जागरण अभियान झापामा गुनासो गरेपछि अभियानका अध्यक्ष मोहन काजीले पीडित शाह र संचारकर्मीसँग इटाभट्टास्थित रेजिना हार्डवेर पुगेका थिए ।
हार्डवेर संचालकले ग्यास कम्पनीले जानकारी नगराउँदा समस्या आएको बताए । ग्यास मूल्य १ हजार ७ सय ९० मा बिक्री गर्ने गरी स्टोक छ । कम्पनीले मूल्य घटेको आधिकारिक जानकारी नआउँदा पुरानै मूल्यमा बेच्ने हो, जानकारी नआउँदा शाहलाई तत्काल १ हजार ६ सय ६० मा दिन नसक्ने भनेको हो, त्यसमा डिलरको के गल्ती छ र डिलर संचालकको भनाई थियो ।
उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष पुगेकै समयमा शाहले शुक्रवार साँझ घटेको मूल्यमै एउटा ग्यास लिएका थिए ।
उक्त अवसरमा मेचीनगर वडा नं. ७ का मेलमिलापकर्ता पिताम्बर पौडेल, ज्येष्ठ नागरिक वडा समितिका सचिव अम्बर परियार र स्थानीय पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।























































