धुलाबारी । युवा अभियान नेपालले दुई वटा विद्यामा उच्च शिक्षा हासिल गर्ने दुई जना व्यक्तिलाई विहीबार सम्मान गरेको छ । वडा दशैं दीपावली तथा छठ पर्व-२०८३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमबीच आफ्नो क्षेत्रभित्रका उच्च शिक्षा हासिल गर्नेमध्ये एक जना डाक्टर र एक जना इञ्जिनियरलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा भापा मेचीनगर १४ प्रगति टोलकी सोन्जा भट्टराई र सोही ठाउँका इञ्जिनियर रोशन बराललाई समाजको गहनाको रुपमा सम्मान गरेको हो ।
सम्मानित प्रतिभालाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नम्बर-१४ का वडाध्यक्ष बाबुलाल सुब्बा र अतिथिहरुले सम्मान पत्र, खादामाला र अविर लगाएर सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सुब्बाले डाक्टर र इञ्जिनियर विषयमा उच्च शिक्षा हासिल गर्ने सम्मानित व्यक्तिलाई बधाई दिदैं आगामी दिनमा डाक्टर र इञ्जिनियर मात्रै होइन अन्य प्रतिभालाई वडाको गहनाको रुपमा संरक्षण गर्ने उद्घोष गरेका थिए । उनले समाजमा भएका विकृति विसंगतिलाई नियन्त्रण गर्दै राम्रो काम र कुनै विद्यामा उत्कृष्ठ हासिल गर्नेलाई सम्मान गरेकाले युवा अभियान नेपालको कार्यशैलीप्रति प्रशंसा गर्दै गरेका थिए । 
कार्यक्रममा समाजसेवी तथा पूर्व जनप्रतिनिधि जीवन प्रसाईं, मेची ग्यास उद्योगका अमन अग्रवाल, निरन गौतम र पुरस्कृत व्यक्ति रोशन बरालले बडा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना दिँदै सम्मानित डाक्टर र इञ्जिनियरद्धयलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए । युवा अभियान नेपालका संयोजक पशुपति भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेनजी युवाको तर्फबाट प्राची सुवेदीले संगीतमय गीत प्रस्तुत गरेकी थिइन् ।

बासुदेव राजवंशीले स्वागत गरेको कार्यक्रममा मेची ग्यास उद्योगका देवर्सी प्रसाई, नव दुर्गा मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णकुमारी सुवेदी, श्रेय सृजना महिला बचत तथा ऋण सहकारी संस्थाकी सचिव हरिमाया बराल, प्रगति टोल विकास संस्थाका अध्यक्ष तुलसीप्रसाद लामिछाने, पाथीभरा टोल विकास संस्थाका अध्यक्ष मानबहादुर खड्का, राजवंशी समाज विकास संस्थाका मुनिलाल राजवंशी, युवराज गौतम लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रकाश उप्रेतीले गरेका थिए । युवा अभियान नेपालले विगत दुई वर्षयता समाजमा लागुऔषध दूव्र्यशनी, ओसारपसार तथा विकृति विसंगतिलाई न्यूनिकरण गर्दै भ्रष्टचाररहित समाज निर्माणका लागि सन्देशमुलक काम गर्दै आएको छ ।