चारआली, २८ साउन । झापाको मेचीनगर- १३ चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा अचानक रुख लड्दा एकजना युवती घाइते भएकी छन् ।

आइतबार बिहान ८ः३५ बजेको समयमा पाउँ पाथीभरा मन्दिर छिर्ने भित्री सडक खण्डमा अविरल वर्षाका कारण सखुवा जातको रुख लड्दा पाउँ पाथीभरा मन्दिर बाहिर पूजा सामग्री बिक्री गर्ने मेचीनगर- १२ कालिझोडा निवासी अन्दाजी ३२ वर्षीया सृजना खरेल घाइते भएकी हुन् ।

उक्त रुखको हाँगाले लागेर घाइते भई उनलाई उपचारको लागि मनकामना अस्पताल चारआली लगिएको बताइएको छ । घाइतेको बाहिरी चोट नरहेको ,ढाड, बायाँ कुमको भित्री भागमा चोट लागेको र अवस्था बोल्न सक्ने सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिगई रुख हटाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

बिहान झरीको कारणले मानिसको चहलपहल कम भएकोले ठुलो क्षति हुन नपाएको र पूजा सामग्री बेच्ने आफ्नी नातिनी सृजनालाई सामान्य चोट लागेको र हाल अस्पतालमा रहेको दुर्गा मावि गरामनीका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले बताए ।

रुख लडेर आफ्नो मोटरसाइकल झन्डै क्षति भएको उनले जानकारी दिए । जङ्गलभित्र निर्माण गरिएको पाउँ पाथीभरा मन्दिरमा रुख लड्ने खतरा निकै रहेको छ ।