झापा, २९ साउन । नेपाल प्रहरीको इन्स्पेक्टरदेखि एसपीसम्मको सरुवाका लागि नयाँ मापदण्ड बनेको छ। प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावअनुसार गृह मन्त्रालयले सरुवासम्बन्धी मापदण्ड–०८० स्वीकृत गरेको हो।
नयाँ मापदण्ड स्वीकृत भए लगत्तै विभिन्न तहको सरुवा अघि बढेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।
उनका अनुसार नयाँ मापदण्डअनुसार प्रहरी कार्यालयलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ। यसअघि क र ख गरी दुई वटा श्रेणी मात्र भएकाले सरुवामा समस्या भएपछि मापदण्ड संशोधन गरिएको हो।
मापदण्डमा क श्रेणीको कार्यालयबाट फेरि कमै सरुवा नगर्ने, कार्यालय प्रमुख रहेको व्यक्तिलाई लगत्तै अर्को कार्यालय प्रमुखमा नखटाउने तथा बढुवा लगत्तै कार्यालय प्रमुखमा नखटाउने प्रावधान छन्।























































