दमक । झापाको दमक नगरपालिकाभित्रका जीर्ण बनेका कालोपत्रे सडक मर्मत सम्भारमा लापरबाही गर्ने गरेको पाइएको छ । दमक नगरपालिका पुर्वधार शाखाका अनुसार विभिन्न सडकहरू मर्मत सम्भार हुँदै आएकोमा केही ठाउँमा लापरबाही भएको गुनासो आएको हो ।
दमक- ३ स्थित ढुकुर पानी चौक उतर बेलडाँगी –कृष्ण मन्दिर सडक खण्ड अन्तर्गत ढुकुर पानी चौक दक्षिण विद्यालय क्षेत्रको भत्किएको सडक मर्मत कार्यमा चरम लापरबाही भएको स्थानीयले बताएका छन् । पानी परिरहेको समयमा राती १० बजे मर्मत सम्भार गरिएको र भोलिपल्ट नै मर्मत सम्भार गरेको स्थान उस्तै बनेको स्थानीय राम पौड्यालले बताए ।
सडक बोर्डबाट दमकका विभिन्न सडकहरू मर्मतका लागि अग्नि एन्ड सन्स कनकाई झापाले १ करोड १२ लाखमा ठेक्का सम्झौता गरेको दमक नगरपालिकाले जनाएको छ । यस अन्तर्गत नगरका विभिन्न १२ वटा सडकहरू मर्मत सम्भार गर्नु पर्ने सम्झौंतामा उल्लेख रहेको छ । निरन्तर पानी परेको तथा वर्षाको समयमा काम भइरहँदा यसको प्रभावकारिताको विषयमा कुरा उठ्न थालेको छ ।
दमक नगरपालिकाको पुर्वधार शाखाका इन्जिनियर अनन्त सेनेहाङ अनुसार आफूहरूले यस विषयमा निर्माण व्यवसायीलाई सचेत गराएको जनाए । कामको जाँच गरेर मात्र भुक्तानी हुने भएकाले सम्झौंता बमोजिम काम नगरे बजेट निकासा नगर्ने सेनेहाङले बताए । पानीको परेको समयमा वा कालोपत्रे गर्न नमिल्ने अवस्थामा गरेको भए त्यो पनि सच्याउन लगाउने उनले बताए ।
ढुक्क हुँदा हुन्छ हामी ल्याब परीक्षण गरेर र मापदण्ड पुरा नभएसम्म भुक्तानी दिँदैनौ, उनको भनाई रहेको छ । पहिल्यै काम गर्नु पर्ने भए पनि नसकेर भदौसम्म समय थप भएको उल्लेख गर्दै उनले लापरबाही भइरहेको भन्ने गुनासो आएकाले अनुगमन गरेर मापदण्ड पुरा नगरेको ठाउँमा फेरी काम गर्न लगाउने समेत प्रतिबद्धता जनाए ।























































