मेचीनगर । अव्यवस्थित रुपमा रहेको ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाको आवाससहितको कार्यालय भवन निर्माण हुने भएको छ । 

मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टाको पुरानो भन्सारमा करिब २ कट्ठा क्षेत्रफलमा १५ लाखको लागतमा ट्राफिक प्रहरी पोस्टको भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ ।भवन निर्माण समितिका अध्यक्ष तथा मेची सामुदायिक सेवा केन्द्र काँकडभिट्टाका अध्यक्ष मुक्ति पौडेलले शिलान्यास गरेका थिए ।

मेची सामुदायिक सेवा केन्द्र काँकडभिट्टाको संयोजनमा निर्माण हुन लागेको उक्त कार्यालय भवन अर्थ मन्त्रालयको स्वामित्वमा रहनेछ ।

शिलान्यास समारोहमा मेची सामुदायिक सेवा केन्द्र काँकडभिट्टाका अध्यक्ष मुक्ति पौडेलले भवन निर्माण समितिका अध्यक्ष पौडेलले निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए ।

ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाका प्रहरी नायव निरीक्षक लीलाकुमार श्रेष्ठले भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने धारणा राखेका थिए । केही दिन अघि सर्वदलीय उपस्थितिबाट कार्यालय भवन निर्माण गर्ने सहमति भएको थियो ।

समारोहमा भवन निर्माण समितिका सल्लाहकार तथा प्रज्ञा सदस्य सुभद्रा भट्टराई अर्याल, आर्थिक संयोजक सुवास गुरुङ, उपाध्यक्ष खडानन्द भण्डारी, सदस्य सचिव प्रनानि लीलाकुमार श्रेष्ठ, सदस्य विष्णुकुमार श्रेष्ठ, केशव गिरी, मिरा कार्की, सुरेश श्रेष्ठ (गोपाल), मोहन रिजाल, दिनेश पोख्रेल, प्रवीण थापा, सञ्जय तामाङ, होम विष्ट, प्रहरी सहायक हवल्दार प्रकाश अधिकारी, स्थानीयवासी भूमिलाल भेटवाल र शम्भु राजवंशीलगायतको उपस्थिति रहेको थियो ।