सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टाको लागि धरानमा निषेधाज्ञा जारी गरेको छ । आज शुक्रबार राति १२ बजेदेखि भोलि शनिबार ९ गते राती १२ बजे सम्म धरानमा निषेधाज्ञा लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले आदेश जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा  ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो । धरानमा पछिल्लो समय धार्मिक तथा सांस्कृतिक विवाद चर्किँदै गएपछि धरानको शान्ति सुरक्षाको अवस्था गम्भिर बन्दै गएको छ ।

IMG_20230825_182536


पहिचानवादीहरूले सार्वजनिक रुपमा गोरुको मासु खाएर भोज गरेपछि हिन्दु धर्म सम्बद्ध पक्षले भोलि ९ गते धरानमा कार्यक्रम राखेको थियो । धरानमा गौ रक्षाका लागि हुने कार्यक्रममा धरान बाहिरबाट समेत सहभागी हुने र धरानमा मुडभेटको अवस्था आउन सक्ने भएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

IMG_20230825_182525

जिल्ला प्रशासन कार्यालयले धरानभित्र हिँडडुल गर्नुपरे स्थानीय प्रशासनको स्वीकृति लिनुपर्ने भन्दै धरान प्रवेश गर्ने चारवटै नाका सील गरेको छ । चतराबाट धरान आउने झण्डा चौक, नहडा, पानीपिया तथा भेडेटार क्षेत्रबाट आज राती १२ बजेदेखि धरान प्रबेश गर्न निषेध गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ ।

यसैबीच शुक्रबार धरानका राजनैतिक दलहरूले प्रेस विज्ञप्ति जारी गर्दै वार्ता र सम्बादका माध्यमबाट समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।


मेयर हर्क साम्पाङको अपील:

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले धरानवासीलाई आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि संयमित र संवेदनशील हुन अपिल गरेका छन् ।  धरानमा केही दिनदेखि धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति संवेदनशील बनाइरहेको बताउँदै शुक्रबार उनले एक अपिल जारी गर्दै संयमित र संवेदनशील हुन आग्रह गरेका हुन् । 


‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो ।

समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकारात्मकतामा परिणत गर्न सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात् गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता’ कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु,’ उनले भनेका छन् ।