झापा । विर्तामोडमा आज विहान मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छैन ।
मृतकको साथमा करिब २० रुपैंया जति सिक्काबाहेक पहिचान खुल्ने कुनै कागजपत्र नभेटिएको ईलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए ।
मृतक अन्दाजी ३४ वर्ष जतिको रहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमाटॅमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । विहान मुक्तिचौक छेउमा रहेको प्रसाई सुपर मार्केट अगाडी नालीभित्र घोप्टो परेको अवस्थामा शव फेला परेको थियो ।
घटना स्थलमा उनले प्रयोग गरेको साइकलसमेत भेटिएको छ । शवको पहिचान र घटनाको विषयमा प्रहरीले अनुसन्धान गरीरहेको ईलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ ।
नालाको अवस्था
सडक बिभागको लापरबाहीका कारण धेरै पैदलयात्री नालामा परेर दुर्घटना शिकार बन्दै आएका छन् । नाला ५ फुटबढी गहिरो छ । नाला खुल्ला राखिएको छ । त्यहाँको फोहोर पनि कहिँले सफा गरिँदैन । विर्तामोडको नयाँ ट्राफिक कार्यालयदेखि पश्चिम राजमार्ग दक्षीणपट्टीको बाटोको ढल निकासका लागि बनाइएको नाला नछोपि खुल्ला र अव्यवस्थित छोडिएको छ । 
सडक बिभागको लापरबाही र विर्तामोड नगरको फितलो अनुगमनका कारण नालामा परेर नागरिकको ज्यान गएको स्थानीयले आरोप लगाएका छन् । कार्यब्यस्ततामा ध्यान लगाउँदै हिड्ने जो कोही पनि नालामा दुर्घटनाको शिकार हुने गरेको त्यहाँ ठेला चालकको भनाई छ ।