मेचीनगर । झापाको बाहुण्डाँगी जेसीजले जेसीज सप्ताह कार्यक्रमको तयारी गरेको छ । जेसीजले सप्ताहको अवसरमा भदौ २० गतेदेखि २६ गतेसम्म आठ वटा कार्यक्रमको तयारी गरेको क्लब मेचीनगरमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
सप्ताह कार्यक्रम अन्तर्गत कृष्ण जन्माष्टमी समेतको अवसरमा जेसीज सप्ताहको उद्घाटनसँगै मेचीनगर–१ कृष्णथुम्की मन्दिरमा लाग्ने मेलामा पानी वितरण गर्ने उल्लेख छ । यसैगरी दोस्रो कार्यक्रम अन्तर्गत मेचीनगर-४ मा अवस्थित दिपेन्द्र प्राविमा शैक्षिक सामाग्री वितरण गरिने जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी केवल निरौलाले बताए ।
तेस्रो कार्यक्रम अन्तर्गत भदौ २१ गते आयोजक बाहुण्डाँगी जेसीज, धुलाबारी जेसीज, मेची उद्योग वाणिज्य संघ र प्रेस क्लब मेचीनगरबिच मैत्रीपुर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको सप्ताह कार्यक्रमका मुल कार्यक्रम संयोजक सामुल रायले जानकारी दिए । उक्त प्रतियोगिता एरिना फुटसल धुलाबारीमा आयोजना हुनेछ ।
यसैगरी चौथो कार्यक्रम अन्तर्गत भदौ २३ गते मेचीनगर स्तरीय अन्तर मावि लोक सांस्कृतिक नृत्य प्रतियोगिता बाहुण्डाँगीको सामुदायिक हलमा २२ वटा विद्यालयको सहभागिता रहने कार्यक्रम संयोजक देबु बानियाँले बताए ।
२५ गते पब्लिक स्पिकिङ र महिला नेतृत्व विकास तालिम र अरिदमन गण चारआली अन्तर्गत रहेको सर्पदंश उपचार केन्द्रको सहकार्यमा सर्पदंश उपचार सम्बन्धी तालिमको आयोजना गरिएको छ । भदौ २६ गते समापन गरिने कार्यक्रम तय गरिएको महासचिव नित्यानन्द चम्लागाइँले जानकारी दिए ।
















































