मेचीनगर ।  राष्ट्रिय सूचना आयोगले झापाको मेचीनगर नगरपालिका कार्यालयलाई पत्रकारले सूचना माग गर्दा उपलब्ध नगराउनुको लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । मेचीनगर-७ का पत्रकार ज्ञानेन्द्र निरौलाले गरेको पुनरावेदनमाथि आयोगले मेचीनगरलाई कारणसहित लिखित जवाफ माग गरेको हो ।

आयोगका कार्यबाहक प्रमुख आयुक्त श्री कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीले संयुक्त रुपमा जारी गरेको आदेशमा भनिएको छ ‘सूचना माग गर्ने पक्षलाई सूचना उपलब्ध गराउनु भन्ने आदेश दिन नपर्नाको कुनै कारण भए सोको आधार र प्रमाणसहित आयोगसमक्ष लिखित व्यहोरा पठाउनु ।’

मेचीनगर नगरपालिका कार्यालयका कार्यालय प्रमुखलाई बिपक्षी बनाइएको आदेशमा आयोगले बाटोको म्याद बाहेक ७ दिनभित्रमा लिखित जवाफ पेश गर्न नगरपालिकालाई भनेको छ ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम मेचीनगर नगरपालिकाका सूचना अधिकारी र त्यसपछि कार्यालय प्रमुखलाई सूचना माग गर्दासमेत सूचना नदिएपछि निरौलाले सूचना आयोगमा पुनरावेदन गरेका थिए । 

यसअघि पनि सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत मेचीनगर नगरपालिकामा सूचना माग गरिएको भएपनि नगरपालिकाले उपलब्ध नगराएपछि बाध्य भएर सूचना आयोगमा पुनरावेदन गर्नुपरेको पत्रकार निरौलाले बताए ।