झापा । तिहार आउन दुई महिनाअघिदेखि नै झापाका सीमा नाकाबाट प्रतिबन्धित बारुदजन्य पदार्थ पटेका भित्रिन थालिसकेको छ ।

सशस्त्र प्रहरीले कचनकवल गाउँपालिका–५ स्थित सुनकोशी चिया बगानबाट बिहीबार बिहान समयमा ठुलो परिमाणको पटाका बरामद गरेसँगै तस्करी समूह अहिलेदेखि नै पटेका भित्र्याउन लागि परेको पाइएको हो । 

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट डाँगाबारीबाट खटिएका सशस्त्रको टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याएको करिब ४ लाख ७० हजार मुल्य बराबरको पटाकासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर-२ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए । 

सो पटाका भारतीय नम्बर प्लेट बीआर ३७ जे ५२५७ नम्बरको मोटरसाइकलमा राखेर भित्राइरहेको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेका थिए । पटेकाहरूमा ८२ बन्डल खुर्सानी, २७ बन्डल रकेट, ११ बन्डल कलर सेट, ३८ बन्डल कलर रेन पटाका रहेको छ । बरामद गरिएको पटाकालाई नष्ट गरिएको छ, भने नियन्त्रणमा लिएको मोटरसाइकललाई ८० हजार मूल्याङ्कन तोकेर भन्सार बुझाउने तयारी भइरहेको डीएसपी कटुवालले बताए । 

जिल्लाका सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्रिँदै आएको पटाका पूर्वका विभिन्न जिल्लासहित काठमाडौँसम्म पुग्ने गरेको छ ।