विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले जेठ १४ गते आइतबार दिनको २ बजेका लागि दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका थिए ।

शनिबार बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको बैठकको प्रारम्भिक कार्यसूचीमाथि छलफल गर्दै बैठकलाई सूचारु गर्ने निर्णय भएको जनाइएको छ ।

प्रदेश सभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा सुन्य समय पनि दिइने भएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले अनुसार पहिलो बैठकमा सुन्य समयमा बोल्नका लागि समय दिइने सहमति भएको जानकारी दिए ।

सचिवालयका अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको बैठक आह्वान सम्बन्धि पत्र पढेर सुनाउने, अघिल्लो प्रदेश अधिवेशनमा छलफल भएर पारित हुन बाँकी रहेको प्रदेश ऐनमा प्रदेशको नाम संसोधन गर्न वनेको विधेयक २०७९ निर्णयार्थ पेश हुने जनाइएको छ ।

त्यसैगरी स्थानीय सेवा (गठन तथा संचालन) अध्यादेश २०८० र प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संसोधन) अध्यादेश २०८० पेश हुने र अन्तिममा प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका तर्फबाट मन्तव्य राख्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।