काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार मात्रै हुने भएको छ । उनका दुई छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो ।
नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्छन् ।
१५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आज राति ११ बजे फर्किने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए । नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौं मै छन् । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ।
सार्वजनिक बिदा दिने मन्त्रीपरिषदको निर्णय-
संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने एमालेको निर्णय-
नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्दै तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको बैठकपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार देशका सबै पार्टी कार्यालयहरुमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत भएको छ ।
केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र इलामको पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राखिने उनले जानकारी दिए ।
सुवास नेम्वाङप्रति शीर्ष नेताहरुको श्रद्धाञ्जली
संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राष्ट्रिय झण्डा ओढाएकी थिइन् । उनी भावविह्वल देखिएकी थिइन् । एमाले अध्यक्ष ओलीलगायत नेताहरुसँगैको लहरमा बसेकी उनले पटक–पटक आँसु पुछेको देखिन्थ्यो ।
अहिले अन्य पार्टीका पनि नेताहरु, पार्टी कार्यकर्ताहरु, शुभेच्छुक र व्यवसायीहरु पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय पुगेका छन् ।
गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।





















































