झापा । झापाको दमकका दन्त चिकित्सक जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

दमक-९ घर भई हाल दमक-६ स्थित सूर्योदय दमक डेन्टल सञ्चालन संचालक डा. नवनीतकुमार झा पक्राउ परेका हुन् । उनले आफ्नै डेन्टलमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ ।

पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि डा. झालाई भदौ २१ गते इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर जवरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरेको छ । सो मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट प्रहरीले म्याद थपको आदेश समेत लिएर अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

उनले पीडित भनिएकी महिलाको किटानी जाहेरीका आधारमा तत्कालै झालाई अनुसन्धानका लागि पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको बताए । यता आरोपी झाले भने आफूले ती महिलामाथि जबरजस्ती करणीको प्रयास नगरेको जिकिर गर्दै आएका छन् ।