झापा । प्रहरीले गौरीगञ्ज र मेचीनगरबाट अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको करिब १ लाख १० हजार एक सय रुपैयाँ बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले बिहीबार गौरीगञ्ज गाउँपालिका–६ स्थित देविगञ्जमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ५० केजी धनिया बरामद गरेको छ । धनियाको मुल्य १० हजार रहेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार दिउँसो मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा विभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा भन्सार छलेर लुकाइछिपाई ल्याउँदै गरेको ढोकाको छिड्किन, ढोकाको हेण्डल, कलको वासर, कलको जिब्री र धाराको एङगल बरामद गरेको छ ।
बरामद गरिएको समानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै भारतबाट अखाद्य माछाहरू अवैधरुपमा नेपाल भित्र्याउदै गरेको अवस्थाबाट सशस्त्र प्रहरीले १२० केजी माछा बरामद गरेको छ ।
प्र १–०१–०१६ प ९३१ नम्बरको मोटरसाइकलमा चार वटा झोलामा लोड गरी ल्याउँदै गरेको अवस्थामा मोबाइल गस्ती टोलीलाई देखेपछि चालक भने फरार भएको बेसका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश्वरप्रसाद शाहले जानकारी दिए ।
बरामद गरिएको रहु प्रजातिको माछाको अनुमानित बजार मूल्य ४८ हजार रुपैयाँ रहेको छ । पशु क्वारेनटाइन कार्यालय काँकडभिट्टाका प्रतिनिधि, शनिश्चरे प्रहरी चौकी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीयको उपस्थितिमा अर्जुनधारा–६ स्थित बेस परिसरभित्र खाल्डोमा पुरेर माछाहरूलाई नष्ट गरिएको र मोटरसाइकललाई सम्बन्धित निकायमा अनुसन्धानको लागि पठाइने बताइएको छ ।





















































