झापा । आमाबुबा बेपत्ता भएको वर्षौँ भइसक्दा पनि नभेटेपछि झापा बिर्तामोड नगरपालिका- ४ का सेढाई परिवारले कुशको विधिबाट एउटै चितामा दुवैको अन्त्येष्टि गरेका छन् ।

कुशे औँसीका दिन बिहीबार कनकाई माईमा सेढाई परिवारले हिन्दु परम्परा अनुसार मलामी गएर कुशको विधिबाट आफ्ना बेपत्ता आमाबुबाको अन्त्येष्टि गरेका हुन् ।

एउटै चितामा आमाबुबाको कुशको शवलाई छोरा घनश्याम सेढाईले दागबत्ती दिएका थिए । करिब सय जनाको सङ्ख्यामा मलामी सहभागी रहेका थिए । अन्त्येष्टिपछि १३ दिनसम्म आमाबुबाको काजक्रिया गरिने सेढाई परिवारले जनाएको छ । बिर्तामोड-१० सैनिक बजार (पथ्थरभिट्टा) मा अस्थायी बसोबासकै समयमा शशिधर सेढाई २०२८ फागुनमा ७२ वर्षको उमेरमा हरिद्वार भारत जान्छु भनी हिँडेकोमा हालसम्म सम्पर्क आएका छैनन् ।

त्यस्तै उनकी श्रीमती छलीमाया सेढाई २०६० सालदेखि मानसिक समस्या भई घोपामा उपचारको क्रममा २०६८ साल फागुन १८ गते ८८ वर्षको उमेरमा घरबाट हिँडेपछी हाल सम्पर्कविहीन भएकी छन् ।

धेरै खोजतलास गर्दा पनि दुवैलाई फेला पार्न नसकेको सेढाई परिवारले जनाएको छ । उनीहरुको उमेर १०० वर्ष पुगेकाले र अब फर्किने आशा नरहेकाले आज कुशे औँसीका दिन दुवै जनाको कुशको विधिबाट दाहसंस्कार गरिएको छोरा घनश्याम सेढाईले बताए ।