भद्रपुर । झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले शुक्रबार विशेष कार्यक्रम सम्पन्न गरेको छ । असोज १ गते हरितालिका तीज पर्वको अवसर पारेर हस्पिटलले नेपाल सामुदायिक विकास केन्द्रमा विभिन्न कार्यक्रमको आयोजना गरी विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले निजी लगानीमा स्थापित ओमसाई पाथीभरा हस्पिटल भद्रपुरको गहना भएको बताएका छन् ।
'भद्रपुरबाट उद्योगी तथा व्यवसायी पलायन भइरहेको अवस्थामा दीपक पोखरेलले बिर्तामोड जस्तो शहर छाडेर भद्रपुरमा यति ठुलो हस्पिटल खोलेर यस क्षेत्रका बिरामीलाई मात्र सेवा दिइरहेका छैन, यो नगरकै सम्पत्तिको रुपमा स्थापित भइसकेको छ,' उनले भने । यसको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नु पर्ने उनले बताए ।
तीज विशेष कार्यक्रम राखेर हस्पिटलले डाक्टर, नर्स तथा कर्मचारीहरू बीचको सद्भाव र एकताको सन्देश समेत दिएको उनको भनाई छ । वि.सं. २०६६ माघ ६ गते यस हस्पिटलको स्थापना भएको थियो । हस्पिटलमा विशेषज्ञ चिकित्सकले सर्वसुलभ सेवा दिइरहेको हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेलले बताए ।
गुणस्तरीय स्वास्थ्य सेवाका लागि थप सेवा विस्तारको तयारीमा रहेको बताउँदै अध्यक्ष पोखरेलले भने, 'यही असोज १ गतेबाट १५ बेडको एनआईसीयु र १० बेडको नर्सरी वार्डको सेवा सुचारु हुँदैछ, अब यहाँ उपचारका लागि आउने गर्भवतीहरू अन्य हस्पिटल धाउनु पर्ने बाध्यताको अन्त्य हुनेछ ।' हस्पिटलले कन्सल्टेन्ट चिकित्सकको सेवा समेत विस्तार गर्न लागेको छ । साबिक मेची अञ्चलमै पहिलोपटक अस्पतालमा कन्सल्टेन्ट नवजात शिशु रोग विशेषज्ञ डा. कुन्दनकुमार यादव र कन्सल्टेन्ट डा. श्रवणकुमार राउतको दैनिक सेवा सुरु हुन लागेको उनले बताए ।
डा. राउत कन्सल्टेन्ट फिजिसियन हुन् । उनी भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट आउन लागेका हुन् । एम्स अस्पतालबाट पाइने गुणस्तरीय स्वास्थ्य सेवा अब ओम साई पाथीभरा अस्पतालबाटै पाइने उनको भनाई छ । दम, खोकी, मुटु, प्रेसर, जन्डिस, सुगर, थाइराइट, उच्च रक्तचाप, मिर्गौला, कलेजो, ग्यास्ट्रिक लगायतका बिरामीले अब ओम साई हस्पिटलबाटै गुणस्तरीय उपचार सेवा पाइरहेको उनले बताए ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री लगायतले हस्पिटलले पुर्याएको योगदानको बारेमा प्रशंसा गरेका थिए ।
हस्पिटलका सञ्चालक बालकुमार पोखरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा व्यवस्थापक दीप पौडेलले सञ्चालन गरेका थिए । साथै तीज विशेष कार्यक्रममा हस्पिटलका डाक्टर, स्टाफ नर्स, कर्मचारी, भद्रपुर नगरपालिकाकी महिला कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरूले सामूहिक रुपमा नृत्य प्रस्तुत गरेका थिए ।





















































