बिर्तामोड । सभामुख देवराज घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल अघि बढाउन निर्देशन दिएका छन् । सोमबार गृह जिल्ला झापा आएका सभामुख घिमिरेले सो सडक निर्माणमा ढिलाई भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताए ।
विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनका लागि झापा आएका सभामुख घिमिरेले बिर्तामोडस्थित आफ्नो सचिवालयमा साँझ पत्रकार भेटघाटमा बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल सुचारु गर्न निर्देशन दिएका हुन् ।
उनले निर्माण व्यवसायीले बजेट नपाएको भन्दै झुटो कुरा गरेर काम रोक्ने प्रयास गरेको बताउँदै बजेट हुँदाहुँदै पनि काम रोक्नु वेठिक हुने सभामुख घिमिरेको भनाई छ ।
यस्तै, अघिल्लो महिना शनिश्चरे खुदुनावारी सडक खण्डको विरिङ पुल चर्किएको घटनामा ध्यानाकर्षण भएको उनको भनाई थियो । उनले जिल्लाका विभिन्न विकासका परियोजना बारे चासो राख्दै निर्माण गर्नुपर्ने र सूचारु आयोजनाहरुको कामलाई अघि बढाइने पत्रकारहरुलाई जानकारी गराएका थिए ।
झापा क्षेत्र नं। २ बाट निर्वाचित भए पनि देशभरका नागरिकको आवाज सम्बोधन गर्ने जिम्मेवारीमा रहेको अवगत गराउँदै आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिदैं जाने बताए ।
संसदमा जिम्मेवार पूर्वक ढंगबाट काम गर्दै दलहरुबीच एकता कायम गरेर जानुपर्ने दायित्व आफैसँग भएको उनको भनाई थियो । सभामुख घिमिरेले सरकारले विद्येयकहरु ल्याउँदा सरोकार पक्षहरुको पनि राय, सूझावका आधारमा ल्याउनुपर्ने धारणा राखेका व्यक्त गरेका थिए । पत्रकार भेटघाटमा घिमिरेले जनताप्रति सरकार गम्भीर हुन नसकेको बताए । जनताप्रति सरकारलाई गम्भीर बनाउन आफ्नो तर्फबाट मद्दत गर्ने घिमिरेको भनाई थियो ।























































