झापा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर स्तरीय अन्तरमावि बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर पर्यटन् कार्यालयले नेपालमा पर्यटनको सम्भावना र चुनौति विषयक बतृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।
पर्यटन कार्यालय परिसरमा आयोजित प्रतियोगितामा मेचीनगरका १७ वटा निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए ।
पर्यटन कार्यालय काँकरभिट्टका कार्यालय प्रमुख प्रभात भट्टराईको सभापतित्व तथा मेचीनगर ४ का वडाध्यक्ष एवम् पर्यटन अभियान्ता अर्जुन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपालमा पर्यटनको प्रचुर सम्भावना भएपनि सरकारले त्यसको सही व्यवस्थापन गर्न नसकेको औंल्याएका थिए ।
प्रतियोगितामा सहभागी विद्यालयलाई पछि पार्दै मेचीनगर-४ स्थित सरस्वती माविका चिरञ्जीवी कोइराला प्रथम भए । दोस्रो पुरस्कार बालसुबोधनीका रमेश नेपालले प्राप्त गरे । त्यसैगरी ईष्ट होराइजन माविकी रेजिना वन तेस्रो भइन् । प्रतियोगितामा सान्त्वना पुरस्कार आदर्श मावि इटाट्टाका विकास गौतमले प्राप्त गरे । उनीहरुलाई क्रमश ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगदसहित प्रशंसापत्र द्वारा पुरकृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अर्जुन कार्की, पर्यटन् प्रहरी काँकरभिट्टका प्रमुख धिरज अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमलाई सफल पार्न शिक्षक हेम खड्का संयोजक रहेको तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो । जस्को सदस्यमा पत्रकार मायामितु न्यौपाने र पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत रेवती ढुंगाना रहेका थिए ।
कार्यक्रममा काँकरभिट्टा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक भारती, अध्यागमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख रेवन्तप्रसाद भट्टराई, नाटा प्रदेश नम्बर-१ का अध्यक्ष पुन्य भट्टराई, होम स्टे कोशी प्रदेश सदस्य मञ्जील देवान, मेची चेम्बर अफ कमर्श धुलाबारीकी अध्यक्ष रुकमणी आचार्य, माइती नेपालका संयोजक गोविन्द घिमिरे, कालिका सामुदायिक वनका अध्यक्ष योगेश भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
पर्यटन् कार्यालयका सूचना अधिकारी निरज कट्ट्लले स्वागत गरेको कार्यक्रमको सञ्चालन पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत हेमराज अर्यालले गरेका थिए ।























































