भरतपुर । पवित्र तीर्थस्थल देवघाटमा आएका दुई युवक बिहीबार बिहान नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा उनीहरू देवघाट आएका थिए। नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढको टोली खोजीमा खटिएको छ।

टोलीले बेपत्ता भएकाको खोजी गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।