जाजरकोट । जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमा आधाभन्दा धेरै बालबालिका छन् । शुक्रबार मध्यरातिको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भएको छ, जसमध्ये ८३ बालबालिका छन् ।स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार जाजरकोटमा ५५ र रुकुम पश्चिममा २८ बालबालिकाको ज्यान गएको छ । दुवै जिल्लामा एक सय ५३ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ ।
जाजरकोटमा सबैभन्दा धेरै मानवीय क्षति नलगाड नगरपालिकामा भएको छ । सहायक सिडिओ हरीशचन्द्र शर्माका अनुसार नलगाडमा १७ महिला, १० पुरुष, १५ बालक र ९ बालिका गरी ५१ जनाको ज्यान गएको छ । त्यस्तै, भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । जसमा १४ महिला, चार पुरुष र बालबालिका २४ रहेका छन् ।
जिल्ला प्रशासनका अनुसार कुसे गाउँपालिकामा दुई महिला, एक पुरुष र चार बालबालिका गरी सातजनाको ज्यान गएको छ । त्यस्तै, छेडागाड नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटको रामीडाँडामा घरहरू पूर्ण रूपमा क्षति भएको भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ ।
त्यस्तै, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषले ज्यान गुमाएकामा १७ बालक र ११ बालिका रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए । पाँच मृतक ६० वर्षमाथिका छन् । जाजरकोटका सहायक सिडिओ शर्माले भने घाइते पनि धेरै बालबालिका नै रहेको प्रारम्भिक अनुमान रहेको बताए । ‘भूकम्पमा धेरै बालबालिकाको ज्यान गएको छ । घाइतेमा पनि बालबालिकाकै संख्या धेरै रहेको अनुमान छ । विवरण तयार गर्दै छौँ । कतिपय घाइते आफ्नै पहुँचले जिल्लाबाहिर उपचार गर्न जानुभएकाले पनि अझै घाइतेको आधिकारिक तथ्यांक आउन सकेको छैन,’ उनले भने ।
प्रतिकार्य शाखाको प्रारम्भिक तथ्यांकले जाजरकोटमा ११ सय ७० घर मात्रै पूर्ण रूपमा भत्किएको देखाएको हो ।
रुकुम पश्चिमका आधाजसो घर ध्वस्त भएका छन् । स्थानीय तहहरूले संकलन गरेको तथ्यांकअनुसार जिल्लाभर ३९ हजार ७०० घर रहेकामा ४१ प्रतिशत अर्थात् १६ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ६ वटै स्थानीय तहका प्रमुखले सोमबार जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा क्षतिको रिपोर्टिङ गरेका हुन् । सबैभन्दा ठूलो क्षति आठबिसकोट नगरपालिकामा भएको छ । नगरभित्र नौ हजार ५२२ घर रहेकामा ७५ प्रतिशत अर्थात् ७ हजार १८४ घर पूर्ण रूपमा ध्वस्त भएको मेयर रवि केसीले जानकारी दिए । ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा मात्र ५ हजार ३७९ घर रहेकामा १७७ मात्रै सग्ला छन् । अरू सबै बस्नै नमिल्ने गरी भत्किएको मेयर केसीले बताए । जोगिएका घर सबैजसो पक्की हुन् ।
सानीभेरी गाउँपालिकामा ३ हजार १४६ घरमा पूर्ण रूपमा क्षति भएको छ । ७२२ घरमा आंशिक क्षति भएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए । त्यस्तै, चौरजहारी नगरपालिकामा १ हजार ९८७ घरमा पूर्ण र ४ हजार ३७४ मा आंशिक क्षति भएको तथ्यांक छ ।
मुसीकोट नगरपालिकामा २ हजार तीन सय घरमा पूर्ण र ३ हजार पाँच सय घरमा आंशिक क्षति भएको छ भने त्रिवेणी गाउँपालिकामा १ हजार ९३५ पूर्ण र १ हजार २५८ आंशिक क्षति भएको छ । त्यस्तै, बाँफीकोट गाउँपालिकामा १८ पूर्ण र १०७ घरमा आंशिक क्षति भएको सम्बन्धित स्थानीय तहका प्रमुखहरूले विवरण पेस गरेका छन् । तर, प्रारम्भिक विवरण भएकाले क्षति अझ बढी हुन सक्ने उनीहरूको भनाइ छ ।
त्यस्तै, सल्यानमा २५, रोल्पामा १७, जुम्लामा ५, रुकुम पूर्वमा २ तथा दैलेख, वैतडी र कालिकोटमा १–१ घर पूर्ण रूपमा ध्वस्त भएको विवरण आएको छ । जाजरकोटमा ७ हजार १६६ तथा रुकुम पश्चिममा ९ हजार ९६१ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, रुकुम पूर्वमा १८२, सल्यानमा ९७, रोल्पामा ८३, प्युठानमा ३१, दाङमा ७ तथा नवलपरासीमा र दैलेखमा १–१ घरमा आंशिक क्षति पुगेको छ ।
क्षतिको पूर्ण विवरण आउन १५ दिन लाग्ने
सरकारले जाजरकोट भूकम्पको पूर्ण विवरण संकलन गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार प्रभावित क्षेत्र पुगेको टोलीले घटनास्थलको अध्ययन तथा अवलोकन गर्नेछ । टोलीको सिफारिसपछि घटनाको विस्तृत अध्ययन गर्न आवश्यक प्राविधिकको संख्या निर्धारण हुनेछ । निर्धारित प्राविधिक फास्ट ट्र्याकमा नियुक्त गरिनेछ । उनीहरूलाई तुरुन्तै घटनास्थल पठाइनेछ । उनीहरूको अध्ययनपछि मात्रै क्षतिको वास्तविक विवरण टुंगिने र त्यसका लागि १५ दिन लाग्ने प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले बताए ।
श्रोत :नयाँ पत्रीकाबाट























































