झापा । झापाको मेची नदीसहित विभिन्न नदी तथा खोला किनारमा छठ पर्वको तयारी गरिएको छ । नेपाल-भारतको सीमामा पर्ने मेची नदीलगायतका नदी, खोला, पोखरी र जलाशयमा मङ्सिर ३ गते आइतबार बेलुका अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व मनाइने गरिन्छ ।
तराईवासीको मुख्य चाड छठ पर्व हर्षोल्लासका साथ मनाउन मेची, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ, बिरीङ, मावा, कमल लगायतका नदी किनारहरू नयाँ बेहुलीझैँ सिँगारिँदै छ ।
जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्व मनाइने मेची नदी किनारमा नेपाल र भारत दुवै देशका नागरिक अहिले घाट (पूजा स्थल) व्यवस्थापनको तयारीमा जुटेका छन् ।
भद्रपुर-५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरमा सयौँ घाट निर्माण धमाधम गरिँदैछ ।
पूजा स्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फुल, विभिन्न रङ्गका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम भइरहेको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए ।
नदी पूर्वपट्टिको भागमा भारतीय व्रतालु र पश्चिम पट्टीको भागमा नेपालका व्रतालुले नदीलाई सङ्गम स्थल बनाएर सूर्य भगवानको पूजा आराधना गर्दै आइरहेकोले यहाँ मनाइने छठको पहिचान छुट्टै रहेको अध्यक्ष झाले बताए ।
नदीमा किनार वरिपरी बिजुलीबत्ति जडान, सरसफाइ, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मूर्ति स्थल निर्माणको काम पूरा गर्न करिब ६ लाख रुपैयाँ खर्च लाग्ने छ ।
उता देवीबस्ती क्षेत्रमा युनिक समूहले भने घाट व्यवस्थापन कार्यलाई तिहार अघिदेखि नै तीव्रता दिएको छ । गरिब तथा विपन्न परिवारका लागि आवश्यकता अनुसार घाट निःशुल्क उपलब्ध गराइने उनको भनाई छ ।
जसले गर्दा सडकमा हुने भीडभाड कमसँगै व्रतालु परिवारजनलाई पनि सहज हुन्छ, उनले भने । बिजुली बत्ती, पण्डाल, सूर्य मन्दिर रंगरोघन, भजन सन्ध्या, पूजा खर्च गरी अनुमानित ४ लाख खर्च हुने उनले बताए ।
समूहले अघिल्लो वर्ष नै नदी किनारमा स्थायी रूपमै सूर्य मन्दिर निर्माण स्थापना गरेको छ । यहाँ मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदै आइरहेका छन् ।
मेची नदीमा छठ हेर्न भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार भक्तजन आउने अनुमान रहेको आयोजक समितिले जनाएको छ । मेची नदीको शान्ति सुरक्षालाई मध्यनजर गरी सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरमा सर्वपक्षीय भेला सम्पन्न गरेको छ ।
सो भेलाबाट पूजाको सामग्री बोक्ने तीन पाङग्रे (ठेला भ्यान) र अशक्त, ज्येष्ठ नागरिकको हकमा सिटी सफारीलाई घाटसम्म जाने दिने निर्णय भएको छ । दुई पाङग्रे, चार पाङग्रे र ६ पाङग्रे सवारी साधनाको हकमा देबीवस्तीको पशुपति प्रावि नजिकै रोकिने र भन्सार अगाडिबाट जाने ती सवारीसाधनलाई भद्रपुर माविमा पार्किङ गराइनेछ ।
छठ पर्वको दिन एक ६ जना ट्राफिक प्रहरी, एक सय २० बढी नेपाल प्रहरी र एक सय सशस्त्र प्रहरी परिचालन हुने सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपी श्यामसंगती महर्जनले जानकारी दिए । नदीमा सुरक्षा व्यवस्थालाई थप चुस्तदुरुस्त बनाउन भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गरिने उनले बताए । पूजा स्थलमा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानमा प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिने उनको भनाई छ ।























































