झापा । मेची राजमार्गको रोङ गाउँपालिका-३ कोल्बुङमा भएको बस दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । घटनास्थलमा १ जनाको मृत्यु भएको थियो । घाइते भएकामध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका-९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो।
विर्तामोडस्थित विएण्डसी अस्पतालमा लामाको आइतबार र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए । दुर्घटनामा आइतबार साँझ वडा नं -९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । बस दुर्घटनामा मृत्यु हुनेका संख्या तीन पुगेको उनले बताए।
धनुषाबाट कन्याम घुम्न आएको ना. ६ ख. ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए। जसमध्ये तीनको मत्यु भइसकेको छ भने ३३ जनाको हाल विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ । उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ ।बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका-२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।























































