झापा । बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्र मार्गको आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिलान्यास गरेका छन् । बिर्तामोड नगरपालिका-४ देखि वडा-३ को आदर्श चोक नडियाबारी हुँदै वडा-९ को हल्दिबारी गाउँपालिकाको सम्झाना चोकसम्म जोड्ने एक हजार दुईसय मिटर लम्बाइको सडकको सभामुख घिमिरेले शिलान्यास गरेका हुन् ।
सो अवसरमा उनले निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न आग्रह गरे । सडक बोर्डले गत वर्ष विनियोजन गरेको एक करोड र चालु आर्थिक वर्षको रु एक करोड १० लाख गरी दुई करोड १० लाखको लागतमा सडक निर्माण हुन लागेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए ।
उनका अनुसार सडक बोर्डले मुलुकमा विशेष महत्वका सडकलाई लक्षित गरेर बजेट विनियोजन गर्दै आएको छ । उनले पहिलो चरणमा बन्ने चार सय ५० मिटरको सडकको गत कात्तिक २० गते जनकपुरको एसडीएम कन्स्ट्रक्सन कम्पनीसँग ६० लाखमा विसं २०८१ असार मसान्तसम्ममा सकिने गरी ठेक्का सम्झौता भइसकेको जानकारी दिए । बाँकी रहेको आठ सय मिटर सडक एक करोड १० लाखको रकममा बन्ने गरी टेन्डर प्रक्रियामा गइसकेको उनको भनाइ छ ।























































