काठमाडौं। सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध विरूद्धका रिटमा अन्तरिम आदेश जारी नहुने भनेको छ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्ध परेका १० वटै रिटमा अन्तरिम आदेश जारी नहुने भनेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ। इजलासले उक्त मुद्दाको पूर्ण सुनुवाइका लागि मंसिर १९ गतेलाई पेशी तोक्न पनि आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए। यी रिटमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ।
गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। सामाजिक सदभाव बिग्रिन थालेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
सरकारको यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल 'स्वागत', अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दिएका थिए।























































