काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आउँदा आफुलाई सोधेर मात्रै आउनुपर्ने बताएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको काठमाण्डौ केन्द्रीत प्रर्दशनका बारेमा आज बिहानै सञ्चारकर्मीसंग कुरा गर्दै प्रसाईले भने, ‘केपी ओलीले अब झापामा मुख देखाउँन सक्छन ? झापा त नजाँदा हुन्छ अब । मलाई नसोधी झापा नजादाँ हुन्छ अब ।’ झापा जादा ओलीले अब आफुसँग अनुमति लिनुपर्ने प्रसाईको भनाई थियो  ।

 ‘केपी ओलीले झापा जाँदा पुलिससँग अनुमाति लिएर हुँदैन,’ प्रसाईले भने, ‘मसंग अनुमति लिनुपर्छ ।’ झापा बिर्तामोडस्थीत बिएण्डसी अस्पतालका सञ्चालक रहेका प्रसाईले भने, ‘अब महेश बस्नेतलाई पनि मलाई नसोधी भक्तपुर छिर्न नसक्ने बनाउँछु ।’ प्रसाईले राजसंस्था र हिन्दु राज्यका बारेमा जनमत संग्रह गरेर देखाउन राजनीतिक दलहरुलाई चुनौति दिए । ‘जनमत संग्रह गरेर देखाउन न उनीहरुको एक मत आउँछ, मेरो ९९ मत आउँछ,’ प्रसाईले भने ।

बिहानैदेखि प्रसाईको भक्तपुरस्थित घरमा प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट आएकाहरुको भीड लागेको छ भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । प्रसाईको नेतृत्वमा आज काठमाण्डौमा प्रर्दशन हुँदैछ । बल्खुलाई कार्यक्रमस्थल तोकिएको भएपनि प्रसाई नेतृत्वको समूहले आज काठमाण्डौका विभिन्न ८ ठाउँबाट प्रर्दशन गर्ने तयारी गरेको छ ।