झापा । नेपाल-भारत सीमा क्षेत्रमा आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले झापामा तीन वटा बोर्डर आउट पोस्ट (बीओपी) थपेको छ। दक्षिणी क्षेत्र कचनकवल–४ डाँगीबारी, गौरीगञ्ज–४ अन्तामारी र गौरीगञ्ज–२ लालमाटीमा बीओपी स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले तीनै वटा बीओपीको बुधवार एक समारोहबीच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथिले उद्घाट्न गरेका थिए । नेपाली कांग्रेस झापाका सभापति देउमान थेबे, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजबंशी, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्कोटा लगायतको सहभागीता रहेका थिए ।
बीओपी निर्माणका लागि स्थानीयबासीले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । डाँगीबारी बीओपीका लागि उपेन्द्रप्रसाद आचार्यले सात कठ्ठा जमिन, लालमाटी बीओपीका लागि विनिता नेम्वाङले सात कठ्ठा र आल्तामारी बीओपीका लागि बबिता कुमारी साहले पाँच कठ्ठा जमिन निःशुल्क उपलब्ध गराउनु भएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका गणपति देबराज अर्यालले बताए ।
उनले डाँगीबारीमा निर्मित व्यारेक तथा कार्यालय भवन ८३ लाख ७२ हजार ७९३ को लागतमा, अल्तामारी बीओपीको कार्यालय ८३ लाख ४४ हजार २५९ लागतामा र लालमाटी बीओपी भवन एक करोड ९७ लाख ७५ हजार ६४० लागतमा निर्माण भएको जानकारी दिए ।
बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले हाल देशभरका सीमा क्षेत्रमा २५० वटा बीओपी रहेकोमा बढाएर ५०० पुर्याउने लक्ष्य रहेको बताउनुभयो । उनले बीओपी निर्माणसँगै जिल्लामा शान्ति सुरक्षा कायम गर्न, सीमा अतिक्रमण रोक्न, सीमा अपराध नियन्त्रण गर्न, सीमा स्तम्भहरुको रेखदेख गर्न, अबैध निकासी पैठारीमा नियन्त्रण गर्न र विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न सहज पुग्ने बताए ।
झापामा १४४ किलोमिटर लामो भारतसँगको खुल्ला सीमाना रहेको छ भने ९९५ वटा सीमा स्तम्भ, चार वटा सीमा सुरक्षा गुल्म र १७ वटा बीओपीहरु छन् । पोखरेलले झापामा १५ वटा बीओपीहरु थप्न प्रस्तावित गरिएको, सीमा स्तम्भहरुको अभिलेखीकरण र मर्मत सम्भार गरिएको र दशगजा अतिक्रमण नियन्त्रण गरिएको बताए । बीओपी उद्घाटन कार्यक्रममा जग्गादातालाई सम्मान समेत गरिएको थियो ।
झापाको सीमा क्षेत्रमा नेपाल र भारत दुबैतिर सीमा स्तम्भहरुको ममैत सम्भार र रंगरोगन गरिएको छ । सशस्त्र प्रहरी बलले सहमति अनुसार बिजोर नम्बरका ३१७ वटा सीमा स्तम्भ मर्मत सम्भार तथा रंगरोगन गरेको बताइएको छ ।






















































