झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।
नेपाली कांग्रेस झापाका अनुसार लामो समयदेखि प्रोस्टेट क्यान्सरको उपचार गराइरहनु भएको उनको गए राति ११ः३० बजे उपचारकै क्रममा बिराटनगरको बिराट मेडिकल कलेजमा निधन भएको हो ।अर्जुनधारा नगरपालिका- ८ निवासी बुढाथोकी जुझारु, जनपक्षीय र साझा नेताको रुपमा परिचित थिए । उनको पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द बुढाथोकी र शिशिर बुढाथोकी एवम् दुई छोरी ममता बुढाथोकी र कविता बुढाथोकी छन् ।
पञ्चायत कालमै वि.सं. २०४३ मा जनपक्षीय उम्मेद्वार बनेर उनि राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए । उनि वि.सं. २०६४ सालमा नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने वि.संं २०७० मा संविधानसभा सदस्य निर्वाचित भए ।
नेपाली कांग्रेसको सरकार गठन हुँदा उनि सामान्य प्रशासन मन्त्री नियुक्त भए । निडर र स्पष्ट वक्ता भएकाले उनलाई जनतामाझ ‘झापाको सेतो बाघ’ भनेर चिनिएका थिए ।
नेपालका तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह र भूटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जीलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेका नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए । वि.सं. २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका उनि पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेलमा जीवन बिताएका थिए ।
बिगत दुई सातादेखि उनलाई प्रोस्टेटको समस्या जटिल भएपछि बिराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । पार्टीभित्र आफ्ना विचार निडर भएर राख्ने र झापाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको पार्टीले जनाएको छ ।
पार्थिव शरीर मंगलबार झापा ल्याइने र शबयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।























































