चारआली । नेपाली भूतपूर्व सैनिकले विविध कार्यक्रम गर्दै पुनर्मिलन तथा सैनिक सम्मेलन झापाको चारआली ब्यारेकमा सम्पन्न गरेको छ । सम्मेलनको आयोजना नेपाली सेना कल्याणकारी बोर्डले गरेको थियो भने कार्यक्रम चारआलीस्थित अरिदमन गणमा भएको थियो ।
कार्यक्रममा झापा र इलाम जिल्लामा बसोबास गर्ने भूपू सैनिक तथा एकल महिलाहरूलाई सहभागी गराइएको थियो । नेपाली सेना नम्बर २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापाको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, सैनिक कल्याणकारी बोर्डका प्रतिनिधि अधिकृत, जिल्लास्थित स्थानीय निकाय तथा सुरक्षा निकायका प्रमुखहरू, पत्रकार, झापा र इलाममा बसोबास गर्ने भूपू सैनिक तथा एकल महिलालगायत करिब एक हजार ६०० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले गरेको सम्बोधन सैनिक सम्मेलनको मुख्य केन्द्र इटहरीबाट प्रत्यक्ष प्रसारण गरेर भूपू सैनिक तथा एकल महिलाहरूलाई देखाइएको थियो । कार्यक्रममा प्रमुख अतिथि सहायक रथी धनबहादुर थापाले शारीरिक रुपमा अशक्त भएका भूतपूर्व सैनिक तथा एकल महिलालाई जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले ह्विलचियर र बैसाखी वितरण गरेका थिए ।
त्यस्तै, थापाले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको तर्फबाट प्रदान गरिएको आर्थिक सहयोग समेत हस्तान्तरण गरेका थिए । सम्मेलनमा अरिदमन गण चारआली ब्यारेकद्वारा तयार पारिएको विभिन्न सांस्कृतिक कार्यक्रम, तेक्वान्दो, पिटी, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो ।
त्यस्तै, झापा जिल्लाका कला र संस्कृतिको जगेर्ना गर्न लागिपरेका महिलाहरूको समूहले तयार पारेको पञ्चेबाजा र धुलाबारीस्थित इस्ट होराइजन माविका विद्यार्थीले ब्यान्ड डिस्प्ले समेत गरेका थिए । भूपू सम्मेलनको अवसरमा नेपाली सेना नम्बर २१ फिए गुल्मले हिताधिकारीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न डा. अधिकृतहरूको टोलीसहितको दुईदिने स्वास्थ्य शिविर समेत सञ्चालन गरिरहेको छ ।






















































