झापा  सभामुख देबराज घिमिरेले  डोमालाल रंगशालाको सम्पूर्ण जग्गा एक वर्षभित्र फिर्ता ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले कानूनी विवाद समाधान गरेरै रंगशालाको जग्गा सार्वजनिक बनाइने बताएका हुन् ।

उनले भूमाफिँयाको हातमा जान लागेको  हाल रंगशाला भएको जग्गालाई सार्वजनिक सम्पत्तिको रुपमा रंगशालाको स्वामित्वमा फिर्ता ल्याउने कार्य एक वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जाहेर गरे ।

डोमालाल राजबंशीले दानमा दिएको जग्गालाई गुठीबाट व्यक्तिका नाममा लैजाने  प्रपन्च असफल भएको समेत बताए । प्रतियोगिता सञ्चालन हुने डोमालाल रंगशालाको १३ बिगाहा जग्गा भने भूमाफियाले जालझेल गरेर निजी बनाएको आरोप छ । उक्त जग्गाको श्रेस्ता स्थानीय देबी गुठीको नाममा भए तापनि भूमाफियाले विभिन्न व्यक्तिको नाममा धनीपूर्जा बनाइसकेका छन् ।

झापा गोल्डकप झापाबासीको फुटबलप्रतिको मोह र सम्मानको नमुना भएको बताए । ए डिभिजन क्लबसहित १० टोली सहभागी झापा गोल्डकपको छैठौं संस्करण आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा बिजयी टिमले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउने छ ।

 चर्चित गायक महेश काफ्ले र अस्मिता अधिकारीले उपस्थित हजारौं दर्शकले भरिभराउ भएको रंगशाला तताएका थिए ।  कार्यक्रममा लिम्बु जातिको च्याब्रुङ नाच, राई जातिको साकेला नाच, सन्थाल नाच र नेवारी समुदायको लाखे नाच प्रस्तुत भएको थियो । यसैगरी धुलाबारीको इष्ट होराइजन स्कुलका बिद्यार्थीहरुको आकर्षक नृत्य कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापा फुटबलको हब भएको बताउँदै डोमालाल रंगशालालाई आधुनिक र सुविधायुक्त बनाउन सरकारसँग माग गरे । उनले झापाबासीको फुटबलप्रतिको मोहलाई ध्यान दिएर खेलकुदको विकासमा लगानी वृद्धि गर्न स्थानीय सरकारलाई आग्रह गरे  । 

प्रतियोगिताका लागि डोमालाल रंगशालामा ११ हजार दर्शक अटाउने बाँसको आकर्षक प्यारापिट तयार गरिएको छ भने यती बु्रअरी प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।२०७२ देखि सञ्चालन भइरहेको झापा गोल्डकप फुटबल प्रतियोगिताको छैठौं संस्करणको उद्घाटन गरेका थिए।