धनकुटा । धनकुटामा रुखको हाँगा भाचिँएर लाग्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।  धनकुटा नगरपालिका–४ सल्लेरीमा बिहिबार अपरान्ह करिब ४ बजे सडकको भित्तामाथि रहेको शिरिसको हाँगा भाँचिएर लाग्दा धनकुटा–१ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको हो ।

उनी, श्रीमान आशिष तामाङले चलाएको प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् । धनकुटाबाट हिले जाँने क्रममा मोटरसाइकल गुडिरहेका बेला एक्कासी रुखको हाँगा खसेर टाउको र छातीमा लाग्दा उषा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको भएपनि केही समयमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक श्रीमान आशिष भने सकुशल छन् । रुखको हाँगा खस्दै गरेको देखेपछि उषाले आशिषलाई अगाडि धकेलेका कारण उनी जोगिन सफल भएको वताइएको छ ।