मोरङ । मोरङको रङ्गेली-३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा २० वटा घर पुर्ण रुपमा जलेर क्षती भएको छ ।

शनिबार दिउँसो अढाई बजेपछि आगलागी हुँदा सन्थाल समुदायका २३ परिवारका २० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बाक्ला वस्ती भएका कारण धेरै वटा घर जल्दा  लाखौंको क्षति भएको र पुर्ण बिवरण आउने क्रममा रहेको प्रहरीले जनाएको छ।

फुसका घर र पश्चिमबाट हवा चलेका कारण बस्तीमा चाँडै आगो सल्किएको थियो। कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैँचा नगरपालिका, विराटनगर महानगरकासहित ७ वटा वारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शनिबार साँझ आगो नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता रञ्जन दाहालले जानकारी दिए।

चौपाया र मानवीय क्षति नभएको दाहालले बताए। आगलागीबाट भएको धनमालको क्षतिको विवरण भने आइ नसकेको उनले जानकारी दिए।