मेचीनगर । कोशी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबर खापुङले सिमा क्षेत्रमा हुने अबैध गतिविधि नियन्त्रणमा राजनीति दल र सम्बद्ध संगठन लागिपरे नियन्त्रण हुने बताएका छन् ।
सीमा क्षेत्रमा हुने आपराधिक घटनाका बिषयमा स्थानीय विभिन्न संघसंस्था र पत्रकारसँगको अन्तरकृयामा उठेका सवालमा उनले दुर्ब्यशनी बिरुद्धको अभियानमा राजनीति दल सम्बद्ध संगठनहरु तरुण दल, युवा संघ, क्रान्तिकारी युवा संघका कार्यकर्ता सक्रिय भए नियन्त्रण हुने बताएका हुन् ।
सिमा क्षेत्रका समस्यामध्ये लागुऔषध दुर्ब्यशनी र ओसारपसार देशैभरीकै समस्या भएकाले त्यसको नियन्त्रणका लागि सामाजिक संघसंस्था लागिपरे जसरी नै राजनीति दल र त्यसका भ्रातृ संगठन लागे नियन्त्रण सम्भब हुने उनको भनाई थियो ।
९० प्रतिशत मानिस लागुऔषध ओसारपोसार र आपराधिक घटनाबाट कस्टडिमा रहेका छन्, कोशी प्रहरी प्रमुख खापुनले भने, `यो बिषयमा प्रहरीले संगठन अत्यन्तै चिन्तित भएको छ । त्यसको न्यूनीकरण र नियन्त्रणका लागि राजनीति दल र सम्बद्ध संगठन पनि लाग्नैपर्छ । अनि मात्रै नियन्त्रण हुन्छ ।´
सचेतना र नियन्त्रणका फरकफरक उपाय अपनाए पनि प्रहरी संगठन एक्लैले समस्या सामाधान नहुने उनको भनाई थियो ।
त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीले आफ्नो श्रोतसाधन, क्षमता र जनशक्तिअनुसार सचेतना र कार्वाही गर्दै आएको उनको भनाई थियो ।
मानिसलाई सुधार्न प्रहरीले पक्राउ गरी कार्वाही गर्ने र त्यस्ता मान्छेलाई छुटाउन राजनीति दल लाग्ने गलत संस्कार भएको उनको भनाई थियो ।
भ्रातृ संगठनका कार्यकर्ताले नै दुर्ब्यशनी र ओसारपसार गर्नेलाई सुदारका लागि लाग्ने लाग्ने र नसुद्रिए प्रहरीलाई खबर गरेर सहयोग गर्ने आग्रहसमेत गरेका थिए ।
उनले अबैध चोरी-पैठारी गतिविधिलाई निरुत्साहित गर्न स्थानीय समुदायसँग छलफल र समन्वय गरेर त्यस्ता नागरिकलाई करको दायरामा ल्याउने उपाय अपनाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । उनले प्रहरीलाई सबै क्षेत्रबाट रचनात्मक आलोचना र सहयोग गर्न समेत आग्रह गरेका थिए ।
अन्तरकृयामा बिराटनगर महानगरका प्रहरी उपरीक्षक दिपक पोखेरेल, झापाका प्रहरी उपरीक्षक मिलन केसी, माइती नेपाल काँकरभिट्टाका प्रमुख गोबिन्द घिमिरे, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललगायतको सहभागीता रहेको थियो ।






















































