झापा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले उद्दारवादकाे अन्त्य नै अहिलेको सङ्कटकाे समाधान भएकाे बताएका छन् । शनिबार जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले झापाको विर्तामोडमा आयाेजना गरेकाे 'वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसकाे दुष्प्रभाव' विषयक अन्तरक्रियामा बोल्दै अनिलले उद्दारवादकाे अन्त्य र समाजवादकाे स्थापना नै वर्तमान सङ्कटकाे समाधान भएकाे बताएका हुन् ।
नेपालकाे पञ्चायत सङ्कटमा परेपछि अमेरिकालाई गुहारेर तत्कालिन अर्थमन्त्री प्रकाशचन्द्र लाेहनीले नीतिगत रूपमा देशलाई उद्दारवादतिर डाेर्याएका र यसकाे कार्यान्वयन वहुदलपछि नेपाली कांग्रेसका अर्थमन्त्री रामशरण महतले गरेका कारण अहिलेकाे सङ्कट आएकाे बताए ।
अमेरिकाले सुरू गरेकाे उद्दारवाद अहिले नमानेकाे भन्दै उनले नेपालले मानिरहन आवस्यक नभएकाे बताए । नेपालकाे विकास नहुनु र आर्थिक राजनीतिक रूपमा सङ्कट पैदा हुनु भनेकाे उदारवादकाे परिणाम हाे ।', उनले भने, 'अहिले भारत, अमेरिकाले उदारवाद मानिरहेको छैन । उनीहरूलाई सङ्कट पर्दा उदारवाद मान्नेहरूले सुरू गरेकाे उदारवाद हामीले किन मान्ने ? यसकाे अन्त्य किन नगर्ने ।'
उनले नेपालमा बजार विविधिकरण गर्दै उदारवादकाे अन्त्य गर्नुपर्ने बताए । 'परनिर्भरता अर्थतन्त्रले देशमा सङ्कट पर्याे, अन्तर्राष्ट्रिय व्यापार बढाउन भारतकाे निर्भरता ताेडेर चीनका नाकाहरू खाेल्नुपर्छ।', उनले भने, 'त्यसका लागि नेपालले नीतिगत रूपमा पहल लिनुपर्छ । चीनबाट पशु चाैपाया खरिद गर्नका लागि कानून छैन । यस्ता थुप्रै कानून बनाएर भारतकाे परनिर्भरता अन्त्य गर्नुपर्छ ।'
कार्यपत्रमा विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रमकाे अध्यक्षता जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेरबहादुर बिश्वकर्माले गरेको कार्यक्रममा उपस्थित सचिवालय सदस्य शाेभराज वरालले स्वागत र सचिवालय सदस्य प्रविन अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशब भट्टराई, महासंघका काेसी प्रदेश सदस्य तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली, महासंघका कोसी प्रदेश सदस्य सुरेन्द्र भण्डारी, महासंघका झापा सह-सचिव अर्जुन राजवंशी, प्रेस युनियनका काेसी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, मिडिया एक्सन नेपालका झापा अध्यक्ष नरेन्द्र ढकाल, प्रेस चाैतारीका झापा जिल्ला उपाध्यक्ष प्रदिप परियार, जिल्ला सदस्य युवराज आचार्य, फाेनिज झापाकी अध्यक्ष भूमिका सुब्वा, संचारिका समूहकी अध्यक्ष लीला अनमाेल, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन, लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा मन्तव्य राख्दै अधिकांश वक्ताहरुले आम सञ्चारमा देखा परेका समस्या, सञ्चारकर्मीहरुको अवस्था, मिडिया हाउसहरुको परिस्थिति लगायतका विषयवस्तु राखेका थिए ।
















































