पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमा-छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।
आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका पोखरा महानगरपालिका २१ कृष्तीका वर्ष ९ का अनमोल बि.क., सोही स्थानका वर्ष ५ का रोशन बराल, रामदी बस्ने वर्ष १४ का दिप्सन कार्की, वर्ष ६ की योना गुरुङ, वर्ष १३ की डिना गुरुङ, वर्ष १५ की प्रकृती कार्की, एकहाते बस्ने वर्ष ६ का प्रिन्स राना, रामदी बस्ने वर्ष ७ की चिजा बि.क., वर्ष ९ का प्रवेश कार्की, वर्ष १२ की विसिका पौडेल, वर्ष ११ का विश्वास पौडेल, एकहाते बस्ने वर्ष १२ की सिम्रन बि.क. र वर्ष ११ का विवश खत्रीको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको छ।
वर्ष ८ की अनन्या पौडेल, वर्ष ३ की सिमन मगर, वर्ष ३ का न्युजन मगर, वर्ष ७ का रिजन मगर, वर्ष १२ को रामकृष्ण नेपाली, वर्ष २ का अंकित खत्री, वर्ष १४ की सितादेवी बि.क., वर्ष ७ का अस्मित बि.क. र वर्ष ३० की सुमित्रा सुनार, वर्ष २ का निर्दोष सुनार, वर्ष ३० की सपना आले (शिक्षक), वर्ष ११ का निश्चल सुनारको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै पोखरा महानगरपालिका १७ बिरौटाका बस चालक वर्ष ५५ का टेक बहादुर भुजेल, पोखरा २१ रामदीका ८ वर्षका निशान सुनार, वर्ष ५ का सागर थापाको उपचार मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ।























































