झापा । झापाको बिर्तामोड नगरपालिका-२ ओजेटीका छात्रा यौन दुर्ब्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पावर टेक इन्टिच्युटमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत तीन जना छात्रालाई दुर्व्यवहर गरेको उजुरी परेको आधारमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सञ्चालक अलेक मेचे र सोही कम्प्युटर इन्टिच्युटकका शिक्षक नारायण खनाल रहेका छन् । कम्प्युटर इञ्जिनियरिङको ओजेटीका लागि आएका विद्यार्थीमाथि उनीहरुले यौनजन्य दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
मेचे र खनालले ओजेटीमा आएका विद्यार्थीहरुलाई विभिन्न स्थानमा घुमाउन लाने, आइफोन किनिदिने जस्ता प्रलोभन देखाउने गरेको र संवेदनशील अंगमा छुने, सुम्सुम्याउन नदिनेलाई ओजेटीको प्रमाणपत्र नदिने जस्ता त्रास देखाएउने गरेको विद्यार्थीले अभिभावकलाई भनेका थिए । लगत्तै अभिभावकले विद्यालयका प्रधानाध्याकलाई जानकारी गराएसंगै प्रहरीलाई खवर गरेको बताइएको छ ।
पक्राउ परेका उनीहरु विरुद्ध वाल यौन दुरुपयोग मुद्धा दर्ता गर्दै अनुसन्धान अघि बढाइने प्रहरी नायव उपरीक्षक विष्टको भनाई छ ।