हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका-३ स्थित भुसुडीँ खोलाको डिलमा गाईं हत्यापछि गाडेको अवस्थामा फेला परेको छ । गाईं काटेर केही भाग गाडेको अवस्थामा मंगलबार साँझ मृत गाईको अवशेष फेला परेको हो ।
गाईं काटेर एकातिर हड्डी र अर्कोतिर टाउको र पुच्छर गाडेको भेटिएको हल्दिबारी -३ का वडा सदस्य अजित विष्टले बताए। उनले गाईलाई त्यहीँ दाम्लो र किलोसहित रगत पनि देखिएकाले हत्या गरेको जानकारी बताए।
प्रहरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जनाइएको छ । घटनास्थलमा गएर हेर्दा केही दिनअघि नै गाईंलाई गाडेको हुनाले सडेर गन्हाउने अवस्थामा पुगेको जलथल प्रहरी चौकीका इन्चार्ज असई ओमप्रसाद पौडेलले बताए। उनले घटनाबारे अनुसन्धान शुरु गरिएको जानकारी दिए ।























































