झिलझिले। झापाको शिवसताक्षीमा अजिङ्गर फेला परेको छ। शनिबार बिहान ११ बजेतिर अजिङ्गर फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।शिवसताक्षी-६ को शिवालय मन्दिर पूर्वतर्फको बाँस झ्याङको टुप्पोमा वयस्क अजिङ्गर फेला परेको स्थानीयबासीले बताए ।
बाख्रालाई बाँसको घाँस काट्न जाने स्थानीयले बाँसको टुप्पोमा अनौठो प्रजातिको सर्पजस्तै अजिङ्गर देखेपछि हल्लाखल्ला भएको थियो। सो ठाउँमा यतिबेला डिभिजन वन कार्यालय झापा, सेक्टर वन कार्यालय दमक, इलाका प्रहरी कार्यालय शिवगञ्ज, शिवसताक्षी-६ का जनप्रतिनिधिलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी पुगेका छन्
अजिङ्गर बाँसको टुप्पोमा भएकाले त्यसको सकुशल उद्धारका लागि वन कार्यालयका प्राविधिकको टोली लागिपरेको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए । अजिङ्गरको उद्धारपछिको व्यवस्थापनका विषयमा पनि छलफल भइरहेको वडा अध्यक्ष कार्कीले जानकारी दिएका छन्।
उक्त अजिङ्गरलाई भुईँमा झारेपछि मात्र त्यसको तौल, आकार र कुन प्रजातिको अजिङ्गर हो भन्ने खुल्ने वन कार्यालयले जनाएको छ। जमिनबाट करिब ५० फिट माथि बाँसको टुप्पोमा अजिङ्गर गुजुमुज्ज भएर बसेको प्रत्यक्षदर्शीले बताए ।























































