मेचीनगर । श्रीकृष्णजन्माष्टमीको दिन सोमबार साँझ झापाको धुलाबारीस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित श्रीकृष्ण प्राकट्य महोत्सवमा महाआरती सम्पन्न गरिएको छ ।
कोशी प्रदेशका सांसदद्वय गोपाल तामाङ र सबिना बजगाई, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, भद्रपुर नगरपालिका मेयर गणेश पोखरेल, उपमेयर राधा कार्की लगायतले श्रीकृष्ण प्राकट्य महोत्सवमा महाआरतीको पूजा गरेका थिए ।
महाआरतीमा भाग लिन मेचीनगर, भद्रपुर, बिर्तामोड र अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका लगायतका क्षेत्रबाट समेत भक्तजनहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
स्वस्तीबाचन, भजन कीर्तन, स्वागत नृत्य र प्रसाद वितरणसहित सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष रोहितकुमार बुढाथोकी, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्री लगायत सयौँ भक्तजनहरुले आरतीमा सहभागी भएका थिए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले ‘श्रीकृष्णजन्माष्टमी’को दिन र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यसदिन भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्म गरेको मानव समुदायलाई त्यसतर्फ प्रेरित गरेको पाइन्छ ।






















































