झापा । दधिकादो पर्व नेपालको पूर्वी तराईको झापालगायतका जिल्लामा बसोबास गर्ने आदिबासी समुदाय राजवंशी, गन्गाई, ताजपुरिया जातिले मनाउँदै आएका छन् । ती जातीको धार्मिक एवम् साँस्कृतिक पर्व हो ।झापा, मोरङ र सुनसरी जिल्लाका आदिबासी समुदायले कृष्ण जन्माष्टमीको भोलीपल्ट दधिकादो पर्व मनाउँछन । दधिकादो खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेल्ने बानी भएको हुँदा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।
राजबंशी समुदायका मानिसहरूले विभिन्न कार्यक्रमको आयोजना गरी दधिकाद पर्व मनाएका छन । हरेक वर्ष कृष्णजन्माष्टमीको भोलीपल्ट वा नवमीका दिन राजबंशी समुदायले यो पर्व मनाउदै आएका छन । दधिकादो पर्व झापाको गौरादह, खजुरगाछी, शिवगञ्ज, दुवागढी तथा मेचीनगरका विभिन्न ठाउँमा भब्यताका साथ मनाएका छन् । विभिन्न स्थानमा राजवंशी, सन्थाल समुदायले मनाएको राजवंशी समाज बिकास समितिले जनाएको छ ।
ती ठाउँका राजवंशी समुदायले भजन किर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुद लगायत एक आपसमा हिलो दलादल गरेर यो पर्व मनाउँछन । भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा नवमीका दिन राजबंशी समुदायले एक अर्कामा हिलो दलेर यो पर्व मनाउने किबंदन्ती रहि आएकॊ छ ।
खासगरी दधिकाद भनेको दहीको हिलो भने पनि दही नपाएका कारण माटोको हिलो बनाई एक अर्कामा छ्याप्दै रमाउने गर्ने गरेको बताइन्छ । त्यही हिलोमा एउटा नरिवल राखिन्छ । दुईवटा समुह बनाइएको हुन्छ । एक समुह कृष्ण मन्दिरमा नरिवल चढाउन जान्छ तर अर्को समुहले रोकावट गर्दछ र यही बेलामा निकै घम्साघम्सी चल्छ ।
यही पर्वको अवसर पारेर धेरै ठाउँहरूमा राजबंशी समुदायले कृष्ण मन्दिरहरूमा कृष्णअष्टमीका दिन रातभर भजन किर्तन गरी जाग्राम गरेर त्यसको भोलीपल्ट दधिकाद पर्वको अवसरमा विविध कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछन ।






















































