झापा । देशभर परेको निरन्तर वर्षाको अवस्थामध्ये पुर्वमा कोशी प्रदेशको झापामा अत्यधिक वर्षा भएको छ । सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी विमानस्थलमा भएको छ। चन्द्रगढी विमानस्थलमा झण्डै २९७.४ मिलिमिटर वर्षा भएको छ।
यसैगरी गौरादहमा २३९, अनारमनीमा २३४, केचनामा २३०, बाहुनडाँगीमा १९२ मिलिमिटर वर्षा भएको छ । झापाको छिमेकी जिल्ला इलामको कन्काई माइचुलीमा २६८ मिलिमिटर वर्षा मापन भएको छ। यसैगरी मोरङको बाहुँनीमा १९७, विराटनगर विमानस्थलमा १९४ र सप्तरीको बरमझियामा १८८ मिलिमिटर वर्षा मापन भएको छ।
अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ। अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले प्रहरी प्रशासन अलर्टमा रहेको बताए । उनका अनुसार शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका डुबान भइरहने स्थानमा सतर्कता अपनाइएको बाँस्तालाले बताए ।
उनका अनुसार स्थानीयलाई उद्धार गर्नुपर्ने भएमा गाउँ–गाउँमा अस्थायी आश्रयस्थल समेत पहिचान गरी तयारी अवस्थामा राखिएको छ। ‘उद्धार गर्नुपर्ने अवस्था आएमा कतै विद्यालय, कतै धर्मशालाहरुमा राख्ने गरी तयारी गरिएको छ,’ प्रजिअ बाँस्तोलाले बताए ।























































