धुलाबारी । ज्येष्ठ नागरिकहरुको साझा संस्था साठी प्लस समाजले दसैं, तिहार, छठ  लगायतका चाडपर्वको उपलक्ष्यमा  शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

मेचीनगर–१० खयरडाँगीस्थित महाङ्कालेश्वर सामुदायिक भवनमा भएको कार्यक्रममा मेचीनगरका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा, ज्येष्ठ नागरिक, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले ज्येष्ठ नागरिकहरु समाजको पथप्रदर्शक भएको बताए ।

उनले आगामी वर्षको बजेटमा साठी प्लस समाजको जग्गामा भवन बनाउन सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर। “जग्गा भएका संस्थाहरुको भवन बनाइदिने नीति लिएका छौं,” वडाध्यक्ष खनालले भने–“प्रगति टोलबाट वडाले त्यस्तो कार्यको सुरुवात गरिसकेको छ । आउँदो वर्षको बजेटमा साठी प्लस समाजको भवन बनाउन हामी सहयोग गर्नेछौं ।”

कार्यक्रमका वक्ताहरुले अनुभव र ज्ञानले भरिपूर्ण ज्येष्ठ नागरिकहरु समाजमा उपेक्षित भइरहेको गुनासो सुनाएका थिए । स्थानीय सरकारले उनीहरुको हित र सुविधाका लागि ठोस कार्यक्रम ल्याउनु पर्ने सबैले सुझाव दिएका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं. १ का सभापति इन्द्रबहादुर बुढाथोकीले युवा पलायनको समस्याले गाउँघरमा ज्येष्ठ नागरिक मात्र देखिन थालेको जनाउँदै छोराछोरी विदेशमा आर्थिक रुपमा सम्पन्न भए तापनि वुवाआमाहरुलाई घरमा रोगले थलिदा उपचारका लागि अस्पताल पुर्याइदिने मानिसको अभाव रहेको सामाजिक अवस्थाको चित्रण गरे ।

साठी प्लस समाजका पूर्वअध्यक्ष त्रिभुवन चौधरीले अग्रज पुस्ताको सम्मान हुन नसक्दा अहिलेको समाज विग्रह, अराजकता र बेथितितर्फ धकेलिएको टिप्पणी गरे।

“जसले जसलाई पनि गाली र दुष्प्रचार मात्र गरिरहेको सामाजिक सञ्जालमा देख्न पाइन्छ,” चौधरीले भने–“अरुको त के कुरा देशका सम्मानित ओहोदामा रहेका व्यक्तिहरुलाई नै अश्लिल गालीका शब्द प्रयोग गर्ने प्रवृत्ति बढेको छ ।” उनले देशमा लोकतन्त्रको नाममा जताजतै मौलाएको छाडातन्त्र रोक्नु पर्ने माग गरे ।

बुद्धिजीवी टीकाराम पौडेल, नेकपा एकीकृत समाजबादीका नेता एवम् साठी प्लस समाजका संस्थापक वीपी भट्टराई, मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजबंशी, मेचीनगर–९ का पूर्व वडाध्यक्ष गोपाल खड्का, महाङ्कालेश्वर शिवालय मन्दिरका अध्यक्ष केदार गौतम भाञ्जा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् समाजसेवी नरेन्द्र खड्का, साठी प्लस समाजका संस्थापक चिरञ्जीवी दाहाल लगायतले सो अवसरमा शुभकामना मन्तब्य व्यक्त गरेका थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नरप्रसाद पौडेलले र सञ्चालन संस्थाका सचिव बद्रीनाथ भट्टराईले गरेका थिए ।

खयरडाँगी र धुलाबारी क्षेत्रका ज्येष्ठ नागरिकहरुको भेलाले २०७२ सालमा स्थापना गरेको साठी प्लस समाजलाई भवन निर्माणका लागि मेचीनगर–१० की मैयादेवी ओझाले १० धुर जग्गा दान दिए ।

सोही जग्गामा संस्थाको भवन बनाउने योजना रहेको अध्यक्ष पौडेलले बताए । संस्थालाई मेचीनगरका सबै वडामा विस्तार गर्ने योजना समेत उनले सुनाउनु भएको छ ।