झापा । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने बिहान ११ बजेर ३६ मिनेटलाई उत्तम तोकिदिएको छ ।

टीका-जमरा देवीको प्रसादको रुपमा लगाइने चलन छ । प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार आज देबिलाई बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।

‘साइतमा मिल्छ भने ११ बजेर ३६ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने,’ प्रा.डा. गौतमले भने ।

सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी बताउँछन् ।