भद्रपुर । झापा भद्रपुर-गलगलिया सिमाबाट त्यहाँ खटिएका प्रहरीको मिलेमतोमा लागुऔषध तस्करी हुने गरेको पुष्टि भएको छ । ठूलो परिणामको निषेधित औषधि (लागुऔषध) भद्रपुर नाका हुँदै धरानसम्म प्रहरीकै सेटिङमा ओसारपसार गर्न सफल भएको पाइएको छ ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी, लागुऔषध ब्यूरो तैनाथ सकृय रहेको भद्रपुर-गलगलिया नाकाबाट लागुऔषध र निषेधित औषधि नेपाल भित्र्याउँदै विभिन्न ठाउँमा ओसारपसार गर्ने गरेको पाइएको हो । सोमबार बेलुका ७ बजे धरान प्रहरी चौकी तीनकुनेको टोलिले लागुऔषध र निषेधित औषधि स्पास्मोसहित बिराटनगर-१२ का २७ वर्षीय राकेशकुमार यादवलाई पक्राउ गरेपछि उक्त बिषय पुष्टि भएको हो ।
राकेशकुमार यादवलाई निषेधित औषधि स्पास्मोसहित धरान उपमहानगरपालिका–८ तिनकुनेमा चेकजाँचको क्रममा भद्रपुरबाट धरानतर्फ आउँदै गरेको को १ ख ७४५१ नंम्बरको मोटरसाईकलबाट १७ हजार ५०० चक्की स्पास्मो बरामद भएको छ । उनलाई खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधि स्पास्मो बरामद भएको थियो। लागुऔषधसहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
उनी विराटनगर घर भएर पनि झापा भद्रपुरबाट धरानमा लागुऔषध ओसारपसारमा संलग्न कसरी भए भन्ने विषय समेत प्रहरीले सुक्ष्म अध्ययन गरिरहेको छ । झापाको भद्रपुर आसपासमा यति ठूलो मात्रामा लागुऔषध भित्र्याएर धरानसम्म पुग्ने गरेको छ ।























































